म रेशम चौधरी !
************
म रेशम चौधरी
तपाईले सोच्नु भयो
म केवल हलियाको बच्चा !
तपाईले खटाएको खेतमा
खुरु खुरु जोत्न जानु पर्ने मैले
तपाईले दिएको बाली
खुरुखुरु थाप्नु पर्ने मैले
कसले उकास्यो खै मलाई
मैले त तिम्रो खेत अब जोत्दिन भनिदिएँ
मैले त मलाई थरुवान चाहियो भनिदिएँ
म रेशम चौधरी
कस्तो अनाडी मान्छे त है मालिक ?
दोश्रा ठूला एकीकरणकर्ता
श्री ३ जङ्गबहादुरले
अङ्ग्रेजको गुलामी गरे वापत
थुक विर्ता पाएको
म नयाँ मुलुकको हलिया
मैले अलि होस गर्न पर्थ्यो कि
जोशमा होस गुमाएँ सायद
र मैले टेकेको
पुरानै मुलुकको यो जमीन
मेरो पनि हो भनिदिएँ !
म त जाँड खाएर सुत्नु पर्ने
भाइ भाइ मारामार गर्नु पर्ने
भाइ भाइको किचलो मिलाउन
हजुरलाई ठेकी कोसेली बुझाउनु पर्ने
मैले त थारु थारु एक होऔं भनि दिएँ
मैले त आफ्नो निसाफ आफै गर्छु भनि दिएँ
मालिकको रबाफ पनि नचिनी
मुखै मुख जबाफ फर्काउने
म रेशम चौधरी मालिक !
मान्छेहरूले भने-
देशमा गणतन्त्र आयो रेशम
अब दिल खोलेर बोल्नु पर्छ
मान्छेहरूले भने-
सङ्घीयता पनि पो आएको छ रेशम
अब थरुवान पनि माग्नु पर्छ
समावेशिताका पनि कुरा छन
अब राज्यका हरेक निकायमा
थारुहरूले पनि भाग खोज्नु पर्छ
आफू त इमान्दार थारुको बच्चा
होला होलाझैं लाग्यो
नलागोस पनि कसरी
सङ्घीय गणतन्त्र नेपाल भनिएकै छ
यो ठग्नलाई गरिएको
ठग घोषणा हो भनेर
कहिलै ठग्न नजानेको
म थारुको सन्तानले कसरी मानौं मालिक ?
थरुवान पनि मागेकै हो
हाम्रो भाग पनि खोजेकै हो
तपाईकै कानून अनुसार चुनाव लडेर
भव्य मतले सभासद भएकै हो
तर म सभासद बनेको
तपाईलाई चित्त बुझेन मालिक
मलाई के थाहा
तपाईभित्र जङ्गबहादुर छ भनेर ?
म रेशम चौधरी
जेलको चिसो छिंडीमा बसेर
देखिरहेछु नयाँ सपना
म बस्ने कोठरीमा हजुर हुनुहुदो रैछ रे
म हजुरलाई भेट्न
हातमा फलफूल बोकेर
गेटमा रहेछु रे मालिक
सपना पनि कस्तो डरलाग्दो है ?
माफ गर्नु होला मालिक
सपना भनेको सपनै त हो
कतै सपनै देखेको कारणले
अर्को मुध्दा नलागोस है मालिक !
[ रचना लेखक – बलराम तिमल्सीना ]
भक्तपुर