सलमान खानको चलचित्र ‘टाइगर ३’ मा बलिउड अभिनेत्री कटरिना कैफ।

एजेन्सी (मुम्बई):= पछिल्लो समय बलिउड अभिनेत्री कटरिना कैफले सार्वजनिक रूपमा उपस्थिति कम गर्दै लानुभएको छ । अभिनेता विक्की कौशलसँग विवाहपछि उहाँको सार्वजनिक उपस्थिति निकै कम भएको हो । यहीकारण उहाँका फ्यानहरूले सामाजिक सञ्जालमा मिडियासँग कटरिना किन टाढिएकी छिन् भन्ने गुनासो पोखेका छन् ।

हालैमात्र कटरीना इदको छेको पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित हुनुभएको थियो । जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उहाँको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उहाँ व्यावसायिक कारणले नै मिडियामाझ कम देखिनुभएको हो ।

कटरिना सार्वजनिक रूपमा कम देखिनु गर्भावस्था नभई चलचित्र ‘टाइगर ३’का कारणले हो । जसमा उहाँ पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दै हुनुहुन्छ । निर्माताहरू चलचित्र ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरू ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यहीकारण कटरिना आफैंले सार्वजनिक रूपमा आफ्नो उपस्थितिलाई कम बनाइरहनुभएको हो ।

उहाँले ‘टाइगर ३’का लागि निकै मिहिनेत गर्नुभएको छ । कटरिनाको पछिल्लो चलचित्र ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यहीकारण उहाँ दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा रहेको बताइन्छ ।