पछिल्लो समय नेपालीको मन मनमा क्रिकेट खेल।

काठमाडौं := केही दिनदेखिको झरी र बादलले आकाशको घाम छेकेको छ । यही समयमा एसिसी प्रिमियर कपको फाइलनलमा नेपाली टोलीको विजयसँगै नेपाली मनमा क्रिकेटको सूर्योदय भएको छ ।

एसिसी प्रिमियर कपको फाइनलमा मंगलबार युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएसँगै क्रिकेटमा नयाँ तरंग छाएको छ । एसिया कपका लागि छनोट मात्र होइन, नेपाल परेको समूहमा भारत र पाकिस्तानसमेत रहनुले पनि नेपाली टोली र क्रिकेटका समर्थकलाई थप रोमाञ्चित बनाएको छ ।

सेप्टेम्बरमा हुने म्याचअगावै नेपाली समर्थकले भारत र पाकिस्तानसँग हुने खेलको कल्पनासमेत गर्न भ्याएका छन् ।फलामको च्युराझैं लाग्ने भारत र पाकिस्तानी टिमसँग पक्कै पनि नेपाली टोलीलाई सजिलो छैन ।

तर क्रिकेटको एक दिवसीय र्यांकिङमा १४ औं स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारत र पाँचौं स्थानको पाकिस्तानलाई हराउन सक्ने कल्पना गर्न नेपाली समर्थक निकै आतुर देखिए ।

हुरी र झरीमाझ छाता ओढेर, रुखमा चढेर एसिसी प्रिमियर कप क्रिकेटको मज्जा लिएका उनीहरूको कल्पना कम्ता रमाइलो छैन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।