धनगढी:= सुदूरपश्चिममा हिम पहिरोमा परेर ६ जना बेपत्ता भएका छन भने एकजना घाइते भएका छन् । दार्चुलामा गएको हिमपहिरो चार पुरुष र एकजना महिला बेपत्ता भएका हुन् भने बझाङमा हिम पहिरोमा परेर एकजना महिला बेपत्ता भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले यार्सागुम्बा संकलन गर्न गएका पाँचजना मानिस हिम पहिरोमा परेको जानकारी दिनुभयो । उहाँले स्थानीयहरूबाट पाँचजना बेपत्ता र एकजना घाइते भएको खबर आएको बताउनुभयो ।
मंगलबार जिल्लाको व्यास गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको हो । यार्सागुम्बा टिप्न गएका १२ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएका बेला पाँचजना बेपत्ता भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले हिमाली क्षेत्रमा हिमपात जारी रहेकाले खोजी कार्यमा समस्या भइरहेको बताउनुभएको छ ।
यसैगरी, बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला पनि हिम पहिरोमा परी बेपत्ता भएकी छन् । हिम पहिरोमा परी सुर्मा गाउँपालिका–१ धौलीचौर घर हुनुभएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता हुनुभएको हो । उहाँ सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गरेर फर्किने बेला बेपत्ता भएको खबर आएको एसपी चौधरीले बताउनुभयो । सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उहाँ बेपत्ता भएको बताइएको छ ।
बझाङ र दार्चुलामा हिम पहिरोमा पुरिएकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिए पनि खराब मौसमका कारण मंगलबार टोली पुग्न सकेन । घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सशस्त्र र नेपाल प्रहरीको टोलीलाई घटनास्थल पठाइएको हो ।
हिम पहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ्रु दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको छ । चौकीबाट असईको कमान्डमा टोली खटिएको छ । दार्चुलाको हिमाली क्षेत्रमा हिमपात जारी छ ।




















