एसिसी प्रिमियर कप क्रिकेट: उपाधिका लागि फाइनलमा नेपाल र युएई भिड्ने।

एजेन्सी := एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्ने भएका छन् । भएको सेमिफाइनलको आ-आफ्नो खेलमा जित हात पार्दै दुवै टोलीले फाइनल भिडन्त पक्का गरेका हुन् । शनिबार त्रिवि मैदानमा भएको कुवेतसँगको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको थियो ।

यस्तै, मूलपानीमा भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिका आधारमा दुई रनले हराउँदै युएईले नेपालसँगको भेट पक्का गर्‍यो। उपाधिका लागि नेपाल र युएईबीच सोमबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

त्रिवि क्रिकेट मैदानमा जितका लागि २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि खेल सम्भव नभएपछि नेपाल फाइनलमा पुगेको हो । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान नौ, परविन्दर कुमार एक, मित भावसार पाँच र मोहम्मद अस्लाम १४ रनमा आउट हुनुभयो ।

नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर पाँच विकेट तथा सोमपाल कामीले दुई ओभरमा १५ रन खर्चेर एक विकेट लिनुभयो ।।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिनुभयो ।

उहाँले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाउनुभयो । कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। त्यस्तै, कुशल भुर्तेलले ४३ रन बनाउनुभयो भने आसिफ शेखले ३१ रन बनाउनुभयो । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहनुभयो ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिनुभयो भने सयद मोनिव र यासिन पटेलले समान एक-एक विकेट लिनुभयो । पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरिएको थियो ।

यस्तै, मूलपानीमा जितका लागि २३७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । युएई डकवर्थ लेविस पद्धतिका आधारमा तीन रनले अघि भएपछि दुई रनले विजयी भएको हो । ४३ औँ ओभरमा दुई विकेट गुमाउनु ओमानका लागि हारको कारण बन्यो ।

ओमानका कश्याप प्रजापति ४३ बलमा नौ चौकासहित ४९ रनमा आउट हुनुभयो । यस्तै, जतिन्दर सिंह ६५ बलमा ६ चौकासहित ४२ रनमा आउट हुनुभयो । शोएब खान १९, कप्तान जिशान मकसुद ४०, आयन खान एक र सन्दीप गौड चार रनमा आउट हुनुभयो ।

युएईका स्पिनर कार्तिक मयाप्पनले सात ओभरमा एक मेडनसहित ४२ रन खर्चेर तीन विकेट लिनुभयो । बसिल हमिदले दुई र जहरू खानले एक विकेट लिनुभयो ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४९.२ ओभरमा २३६ रनमा अल आउट भएको थियो । युएईका ओपनर तथा कप्तान मोहम्मद बासिमले ३१ बलमा चार चौका र चार छक्कासहित ४८ रनको योगदान दिनुभयो । अनुभवी ब्याटर रमिज शाहजाद ५८ बलमा ६ चौका र एक छक्कासहित ४६ रनमा आउट हुनुभयो ।

ओपनर आर्यन लाक्रा ६८ बलमा एक छक्कासहित २५, वृत्य अरविन्द १८, रोहन मुस्तफा चार र आयन खान १० रनमा आउट हुनुभयो । ओमानका तीव्रगतिका बलर बिलाल खानले ९.२ ओभरमा ४४ रन खर्चेर चार विकेट लिनुभयो । स्पिनर जिशान मकसुदले १० ओभरमा ३२ रन खर्चेर चार विकेट लिनुभयो । आयन खानले १० ओभरमा ५४ रन खर्चेर दुई विकेट लिनुभयो।