प्रचण्ड नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने रास्वपाको संकेत।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको छ । सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको हो । उहाँले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा आपत्ति रहेको बताउनुभयो ।

रास्वपा सभापति लामिछानेले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयोे, ‘हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसद्मा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’

उहाँले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सोही क्रममा लामिछानेलाई पत्रकारले माओवादी र कांग्रेसभन्दा एमालेसँग बढी कम्फर्टेबल हो ? भनेर प्रश्न सोधेका थिए । जवाफमा लामिछानेले एमालेसँग निकट र कम्फर्टेबेल रहेको कुरालाई गलत भाष्य भएको टिप्पणी गर्नुभयो । ‘एमालेसँग निकट रहेको कुरा गलत हो, गलत भाष्य हो’, उहाँले भन्नुभयोे, ‘तर हामी आफैँसँग मात्रै कम्फर्टेबल छौँ । हिजो सरकारमा रहँदा एमालेसँग टाँसियो कि भन्ने थियो । तर, एमालेभन्दा पहिले हामीले सरकारबाट बाहिरिने निर्णय गरौँ ।’

उहाँले त्यसक्रममा आफ्नो बचाउ गर्दै राष्ट्रपति निर्वाचनमा पनि एमालेले सारेका उम्मेदवारलाई भन्दा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको बताउनुभयो । ‘राष्ट्रपति निर्वाचनमा गठबन्धनलाई सघायौँ । उपराष्ट्रपतिको निर्वाचनमा महिला उठाएकाले जनमतलाई सघायौँ’, उहाँले भन्नुभयोे, ‘एजेण्डाका आधारमा हाम्रो सबैसँग सहकार्य हुन्छ ।’ उहाँले अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा नरहेको पनि बताउनुभयो । ‘सरकारमा जाने र मन्त्रालय लिने कुरा अहिले असम्भव छ । यथास्थितिमा सरकारमा गएर मैले मन्त्रालय लिने कुरा सम्भव छैन’, उहाँले भन्नुभयोे, ‘मुलुकको स्थिरताका लागि गर्नुपर्ने निर्णय फरक होला । तर, अहिले सरकारमा जाने सम्भावना एकदमै कम छ ।’

शुक्रबार सभामुख देवराज घिमिरेले चितवन-२ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । अर्का सांसद उपेन्द्र यादव भने काठमाडौं बाहिरै रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहनुभयो ।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै सरकारमा लैजानुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनुभयो ।

उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले जनताले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो । उहाँले नेपालीहरू कोही पनि एक–अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो । उहाँले सबै राजनीतिक दल र नेताहरू गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो ।

रास्वपासँग सामना गर्न राप्रपा सक्षम छ : जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो । उहाँले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताउनुभयो । उहाँले अप्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयोे, ‘मैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद् बडो डामाडोलपूर्ण अवस्थाको संसद् छ, जे पनि हुन सक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रासामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामथ्र्यवान् छ । अत्यन्त अप्ठ्यारो परिस्थिति छ । त्यही अप्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ ।’