पाल्पा := पाल्पाको तानसेनस्थित बतासेडाँडामा श्रीनगर डबलीको काम अगाडि बढेपछि कैलाशनगरका दीपक अधिकारी निकै खुसी हुनुुभयो । आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुुँदा टोलको मात्र नभई सिंगो तानसेन नै रमणीय र सुन्दर देखिने आशामा अधिकारी निकै उत्साहित हुनुुभएको थियो ।
अधिकारीसँगै स्थानीय सुुमन भट्टराई पनि डबली निर्माणले पर्यटकको आगमनसमेत बढ्ने भयो भन्दै खुसी हुुनुुभयो । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने उद्देश्यले करोडौँको लगानीमा हिमश्रृँखलाको अवलोकन गर्न सकिने ठाउँमा श्रीनगर सांस्कृतिक डबलीको निर्माण कार्यले तीव्रता पाएसँगै उत्साहित भएका तानसेनवासी यतिबेला भने निरास भएका छन् । डबली निर्माणको कार्य पूरा नहुँदै अलपत्र परेपछि उनीहरूमा निराशा छाएको हो ।
लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डबली निर्माणको कार्य अगाडि बढाएको हो । प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो ।
प्रदेश सरकारले तानसेन नगरपालिका–५ कैलाशनगर र तिनाउ गाउँपालिका-२ नुवाकोटमा सांस्कृतिक डबली निर्माणको कार्य थालेको थियो । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डबली ६ करोड ८० लाखमा काठमाडौंको प्रतिष्ठा कन्ट्रक्सन प्रालि नामको निर्माण कम्पनीले ठेक्का लिएको र काम सकिने बेलामा पूरा कामै नगरी, वर वुजारत नै नगरी भागेपछि डबली दुुई वर्षदेखि अलपत्र परेको हो ।
तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डबली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गरेको छ । तर, यो पनि अहिले अलपत्र छ । लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले शिलन्यास गर्नुभएको डबलीको २०७८ सालको असार ७ गते निर्माण कार्य पूरा गर्ने गरी २०७६ सालको असार १५ गते ठेक्का सम्झौता भएको हो ।
करोडौँमा निर्मित डबली हालसम्म न त पुरा हुन सक्यो न त निर्मित संरचनाको संरक्षण हुन सक्यो । एक पछि अर्को गरी खण्डहरमा परिणत हुँदै गएको स्थानीयहरूको भनाइ छ ।
निर्माण कम्पनीको कामको नियमन तथा अनुगमन गर्ने निकाय नै रमिते हुृँदा निर्माण कार्यको ६० प्रतिशत पुरा हुन नपाउँदै डबलीको भित्री भाग जंगलमा परिणत हुन पुगेको छ ।
सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन् । पर्यटकीय रूपमा अत्यन्तै महत्वका साथ हेरिएको यो डबलीभित्र झार उम्रिएको छ भने फोहोर थुप्रिएको अवस्था छ । लुम्बिनी सरकारको नेतृत्व शंकर पोखरेलले गर्दासम्म उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत जिल्लामा डिभिजन वन कार्यलयबाट निर्माण स्थलमा नियमित रूपमा रेखदेख हुन्थ्यो ।
जब पोखरेलको नेतृत्व परिवर्तनसँगै मन्त्रालय विभाजन भयो । रेखदेखको जिम्मेवारी पनि स्थानान्तरण भएका कारणले यस्तो समस्या आएको वन कार्यालयका सम्बद्ध कर्मचारीहरू बताउँछन् । डबलीको स्वामित्व लिनका लागि नगर सरकारले पटकपटक प्रदेश सरकार समक्ष लिखित रूपमा माग गर्दा पनि कुनै सुनुवाइ नभएको तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुुभयो ।
नगर सरकारले स्वामित्व पाए निर्माण कम्पनीलाई ताकेता गरेरै भए पनि निर्माण कार्य अगाडि बढाउन सकिने उहाँको भनाइ छ। राजनैतिक खिचातानीमा बाँझिएको डबली सरकार परिवर्तनसँगै भैरहवाको पर्यटन डिभिजन कार्यलाई रेखदेखको जिम्मेवारी दिएका कारण यस्तो समस्या आएको नगरका जनप्रतिनिधिहरू बताउँछन् । ‘निर्माण व्यवसायीलाई कुन निकायले ताकेता गर्ने ? भैरहवाबाट रेखदेख गर्न कठिन भएको छ ।
यसको नियमन तथा अनुगमनको लागि डिभिजन वन कार्यालयलाई जिम्मेवारी दिएको खण्डमा काममा सहज हुने’ डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई भन्नुुहुुन्छ। खुल्ला सांस्कृतिक डबलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरूको चेन्जिङ रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउण्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ ।
यसको ९० प्रतिशत काम सकिए पनि थप दश प्रतिशत काम बाँकी नै छ । तानसेनको डबलीमा पाँच सय जना अट्ने क्षमता रहेको छ । तिनाउ गाउँपालिकाको नुवाकोटगढीमा निर्माण भएको सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङस्थल, बाउन्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरमा समेत निर्माण भएको छ । डबलीभित्र पाँच सयजना बसेर नाच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सकिन्छ ।
कोभिड-१९ को कारण थला परेका होटल रेष्टुराँहरू सांस्कृतिक डवलीको निर्माण भए पर्यटकको आगमन बढ्नेमा होटल श्रीनगर प्रालिका म्यानेजर अशोक थापाले विश्वास व्यक्त गर्नुभयो । भारतीय नाका सुनौलीबाट ३० किलोमिटर, बुटवलबाट पाँच किलोमिटरको दूरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भइरहेको सांस्कृतिक डवलीले यस क्षेत्रकै कलासंस्कृतिको जगेर्ना गर्नेछ ।
तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचार–प्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने धेरैले विश्वास लिएका छन् ।




















