विद्यार्थीको चाप थेग्न नसकेपछि पाँचथरको एक सामुदायिक विद्यालयमा प्रवेश परीक्षा।

पाँचथर:= कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ।चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ।

विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् । नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए ।

‘१ सय ४३ जनाको कोटामा ३ सय ५ विद्यार्थीले भर्नाका लागि आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भयौं,’ प्रधानाध्यापक ठाकुरले भने । कक्षा १ भन्दा मुनि दुईवटा कक्षा (एलकेजी र यूकेजी) रहेको विद्यालयमा केजीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

करिब डेढ दशक अघिदेखि कक्षा ११ र १२ मा विज्ञान संकायसमेत पठनपाठन हुँदै आएको विद्यालयमा २०७६ सालदेखि कक्षा ९–१२ का लागि इन्जिनियरिङ विषय पनि सञ्चालन हुँदै आएको छ । २००६ सालमा प्रसादसिं स्कुलको नाममा स्थापना भएको यो विद्यालय फिदिम माध्यमिक विद्यालयको नामले परिचित छ ।

कोसी प्रदेशको सर्वोकृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भइसकेको यो विद्यालय जिल्लाकै अब्बल शैक्षिक संस्थाको रूपमा चिनिन्छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको स्थानीयको भनाइ छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।