एसिसी प्रिमियर कप क्रिकेटमा साउदीले कतारलाई ७ विकेटले हरायो।

काठमाडौं := अब्दुल वहिदको शतक मद्दतमा साउदी अरेबियाले नेपालमा जारी एसिसी प्रिमियर कपमा कतारलाई सात विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि २१७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको साउदीले ३४.२ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।

साउदी अरेवियाको जितमा ओपनर अब्दुल वहिदले १०८ बलमा २१ चौका र एक छक्कासहित १२४ रनको पारी खेल्नुभयो । अब्दुलले पहिलो विकेटका लागि वाकर उल हसनसँग मिलेर ११८ रनको सानदार शतकीय गर्दै टोलीलाई जित दिलाउनुभएको हो ।

उल हसनले ५५ बलमा नौ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै, साउदीका कप्तान हिशम शेख ३८ बलमा दुई चौकासहित २१ रनमा अविजित रहनुभयो । कतारका इक्रमाउल्लाह खानले दुई विकेट लिनुभयो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले ४९.५ ओभरमा २१६ रन बनाउँदै सबै विकेट गुमाएको थियो । कतारका मोहम्मद तनविरले ४८ बलमा सात चौकासहित सर्वाधिक ४६ रन बनाउनुभयो । यस्तै, ओपनर कमरान खान ३९ बलमा सात चौकासहित ३६ रनमा आउट हुनुभयो ।

विकेट इमाल लियांगे ३१ बलमा छ चौकासहित ३१, कप्तान मोहम्मद रिजलान ३९ बलमा चार चौकासहित २८, इक्रामउल्लाह खान १४ र आमिर फारुक चार रनमा आउट हुनुभयो । यस्तै, खुराम शाहजाद ४३ बलमा तीन चौका र एक छक्कासहित २७ तथा सनदुन विथानागे १५ बलमा दुई चौकासहित १४ रनमा अविजित रहनुभयो ।

साउदीका तीव्र गतिका बलर इश्तिक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर चार विकेट लिनुभयो । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान दुई विकेट लिनुभयो।

समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । साउदी पहिलो खेलमा मलेसियासँग आठ विकेटले पराजित भएको थियो । साउदीले तेस्रो खेल सोमबार घरेलु टोली नेपालसँग मूलपानी मैदानमा खेल्नेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले पराजित भएको थियो । कतारले तेस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।