काठमाडौं := नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा हाल सम्मकै उच्च रन बनाएको छ। एसीसी प्रिमियर कप अन्तर्गत शुक्रवार कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो।
कुशल मल्ल र सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले उक्त योगफल खडा गर्न सकेको हो। सोमपाल कामीले नटआउट रहँदै ४८ बलमा ६३ रन बनाएका हुन्। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। नेपालको ब्याटिङ लाइन धरमराएका बेला मल्लले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरेका थिए। नेपालले सातौं विकेट गुमाउँदा मल्ल १०८ रन बनाएर आउट भएका थिए। ६४ बल सामना गरेका मल्लले १० छक्का र ९ चौका प्रहार गरे। एकदिवसीय खेलमा मल्लको पहिलो शतक हो। उनले ५ वटा अर्धशतक बनाएका छन्।
पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख खाता समेत नखोलेर बाहिरिएका थिए। कप्तान रोहित पौडेल र भीम सार्कीले नेपाललाई लयमा ल्याउने प्रयास गरे। पौडेल २३ र सार्की ३४ रन बनाएर बाहिरिए।




















