चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली विदेशिए, मलेसिया आउने सबै भन्दा धेरै

काठमाडौं := नेपाल देशको ठूलो अर्थतन्त्र धानेकोनै विदेशी रेमिटेन्सले हो । जति धेरै नेपाली हरु विदेश जान्छन् , उति धेरै रेमिटेन्स देशमा भित्रिने गर्दछन। विदेशिने क्रममै गएको चैत महिनामा मात्रै ६१ हजार ४७८ जना भन्दा धेरै नेपालीहरुले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।

यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको जम्मा संख्या हो। चैतमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ११ हजार ३६४, कतार ११ हजार २४९ र युएई १० हजार १९३ जनाले श्रम स्वीकृति लिएका छन्।

गत महिना विभिन्न युरोपियन मुलुकहरू, दक्षिण कोरिया लगायत १०० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्। उक्त महिना उच्च दक्षता भएका २० जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै व्यवसायिक कामका लागि ८३, अर्ध  दक्ष पाँच हजार २९३, दक्ष ४१ हजार ७२९ जना र अदक्ष १४ हजार ३५३ जनाले श्रम स्वीकृति लिएका छन्।

नेपालबाट ५० प्रतिशतभन्दा बढी अदक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गरेकोमा पछिल्लो समय दक्ष श्रमिकहरूको संख्या  बढ्दै गएको छ। दक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा जाँदा जोखिम कम हुने र नेपालले प्राप्त गर्ने रेमिट्यान्स पनि वृद्धि हुने विश्वास लिइएको छ।

एक पटक श्रम स्वीकृति लिएर विदेश गइसकेर श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या २५ हजार चार सय रहेको छ । वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै धनुषाका रहेका छन्। चैत महिनामा मात्रै वैदेशिक रोजगारीमा जान धनुषाका ३६ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै सबै भन्दा कम रुकुम जिल्ला बाट ६ जनाले श्रम स्वीकृति लिएका छन्।