प्रहरी प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुद्वारा गृहमन्त्री श्रेष्ठको राजीनामा माग।

काठमाडौं := गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रर्दशन गरेका छन ।सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाईते समेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन ।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन । सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए ।

शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाउनु भयो । उहाँले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भिर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिनु भयो ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानवीन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन ।