काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी रहेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो।
लामिछानेको मुद्दा नौ नम्बरमा पेसी रहेको थियो। रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न नमिल्ने सिन्हाको भनाई छ ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भएपनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमवार रिट दिएका थिए । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।
नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । नागरिकता दुरुपयोगको उजुरीमा लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी अधिवक्ता सफलले गरेका छन् ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको हो ।




















