खोटाङ:= जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो ।
दिक्तेल बजारस्थित किरात चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको सुरुआत गरिएको छ । नगरपालिकाको रु नौ लाख ९३ हजार आठ सय सातमा सम्पन्न हुने जेब्राक्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्म नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्तरूपमा जेब्रा क्रसको रेखा कोरेर गरेका थिए ।
ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्राक्रस नहुँदा यसअघि पटक–पटक दुर्घटना हुँदै आएको छ । सवारी सञ्चालन गर्दा तीव्रगतिका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्राक्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवं प्राविधिक सहयोग गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए।
गत जेठ २० गते मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधनसमेत भएको थियो । दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश१–०५–००१प ६८३७ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका ५६ वर्षीय नेता श्रेष्ठको उपचारका क्रममा निधन भएको थियो । रासस




















