काठमाडौं:= काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ । वर्षामा पानी ल्याउनेगरी तयारी अघि नबढेकाले वर्षा लागेपछि पानी बन्द हुने भएको हो।तीन वर्षअघि मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनर्निर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि वर्षामा पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
‘विगतमा जस्तै यो वर्ष पनि बर्खा सुरु भएपछि पानी बन्द गर्नुपर्ने अवस्था छ,’ समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने । ‘वर्षाको समयमा पानी खुवाउनका लागि केही गर्न सकिएको छैन ।’ केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनको भनाइ थियो ।
वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने सम्भावना रहेको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्यांकन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पुरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।
आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले जानकारी दिए ।




















