काठमाडौं := नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ। शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका १० मन्त्रीमध्ये अधिकांश नेताहरू पटकपटक मन्त्री भइसकेकाहरू छन् ।
२०५४/५५ सालदेखि अहिलेसम्म ६–७ पटकसम्म मन्त्री भएकाहरूले नै यसपटक पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनुभएको हो भने उहाँका मन्त्रीहरूमा दशौं पटकसम्म मन्त्री भएका पनि परेका छन् ।
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले २०५५ सालपछि पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत २०६६ सालदेखि हालसम्म चारपटक मन्त्री बनिसक्नुभएको छ भने कांग्रेसको कोटाबाट मन्त्री बनेका सीता गुरुङ एकपटक राज्यमन्त्री भएर अहिले मन्त्रीमा पदोन्नति हुनुभएको छ । रमेश रिजाललाई भने कांग्रेसले पहिलोपटक सरकारमा पठाएको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




















