पोखरा:= पोखरामा सम्पन्न २०२३ एसिया कप ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्वर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले हात पार्नुभएको छ । ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौडको दूरी बबले ५५ मिनेट ५५ सेकेण्डमा र मारगेटाले एक घण्टा चार मिनेट ५१ सेकेण्ड समयका साथ पूरा गर्दै उपाधि जित्नुभएको छ।
नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२३ एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत भएको प्रतियोगिताको एसिया कपतर्फ दोस्रो स्थानमा पुरुषतर्फ उज्वेकिस्तानका एलेक्जेण्डर कुरिसोभले उक्त दूरी ५५ मिनेट ५७ सेकेण्ड र तेस्रो स्थानमा रहेका लक्जम्वर्गका स्टेफान जाकोसले ५६ मिनेट ०१ सेकेण्डमा पूरा गर्नुभयो।
चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनेट ०९ सेकेण्ड र पाँचौँ स्थानमा रहेका न्युजिल्याण्डका ओलिभर लारकोम्बेले ५७ मिनेट ५८ सेकेण्ड समयका साथ दूरी पूरा गर्नुभयो । महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभयो।
मिनोरीले एक घण्टा पाँच मिनेट १८ सेकेण्डमा र चिसातोले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गर्नुभयो । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौँ स्थानमा जापानकी युका सातो रहनुभयो । मानाकले एक घण्टा छ मिनेट चार सेकेण्ड र सातोले एक घण्टा सात मिनेट ३७ सेकेण्डमा दूरी पूरा गर्नुभयो।
विश्व ट्राइयाथलन महासंघको नियमबमोजिम घोषित कुल पुरस्कार राशिमध्ये पहिलोले ३० प्रतिशत, दोस्रोले २५ प्रतिशत, तेस्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौँले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसैअनुरूप घोषित कुल ४२ सय डलरबाट शीर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाणपत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौँ स्थानका खेलाडीले २१० डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
सोही प्रतियोगिताअन्तर्गत भएको दक्षिण एसियन च्याम्पियनसिपमा ट्राइयाथलनतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै उपाधि उचाल्नुभयो । उहाँले निर्धारित दूरी एक घण्टा चार मिनेट १६ सेकेण्डमा पूरा गर्नुभयो । यस्तै, दोस्रो स्थानमा रहेका भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेण्ड र तेस्रो स्थानमा रहेका नेपालका वसन्त थारुले एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दूरी पूरा गर्नुभयो।
महिलातर्फ पूर्वविजेता भारतकी प्रज्ञा मोहनले एक घण्टा १२ मिनेट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितले एक घण्टा १३ मिनेट ४६ सेकेण्ड समयका साथ दोस्रो स्थान प्राप्त गर्नुभयो । तेस्रो स्थानमा नेपालकी श्रेवी महर्जनले एक घण्टा १८ मिनेटमा दूरी पूरा गर्नुभयो।
दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत जुनियर ट्राइयाथलनमा भारतले एकलौटी पार्यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दूरी एक घण्टा दुई मिनेट ४६ सेकेण्ड समयका साथ पूरा गर्दै पहिलो, पार्थ मिराज एक घण्टा छ मिनेट ४२ सेकेण्ड समयका साथ दोस्रो र श्रीदथ सुधिर एक घण्टा १० मिनेट २६ सेकेण्ड समयका साथ तेस्रो हुनुभयो । महिलातर्फ भारतकी सञ्जना सुनिल जोशी एक घण्टा १२ मिनेट २१ सेकेण्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन एक घण्टा १८ मिनेटका साथ दोस्रो र भारतकी देवकी शर्मा एक घण्टा २७ मिनेट आठ सेकेण्डका साथ तेस्रो हुनुभयो।
राष्ट्रियतर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभयो । वसन्तले एक घण्टा छ मिनेट ५२ सेकेण्ड, दिपेशले एक घण्टा नौ मिनेट १७ सेकेण्ड र मुकेशले एक घण्टा १० मिनेट ४४ सेकेण्ड समयका साथ दूरी पूरा गर्नुभयो । महिलातर्फ श्रेवी महर्जन प्रथम हुनुभयो । दोस्रो स्थानमा रहनुभएकी केशरी थापा मगरले निर्धारित दूरी एक घण्टा ३२ मिनेट ३१ सेकेण्ड समयमा पूरा गर्नुभयो।




















