प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो, पाँचहजार अमेरिकी डलर पुरस्कार।

काठमाडौं := नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ। फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको ८९ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो। पहिलो हाफमा एकरएकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८९ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। फाइनल खेलमा लाओसका फोउचाङ भोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन्।

नेपाल घरेलु मैदानमा लाओसलाई हराएर उपाधि उचालेको छ। नेपालले उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको गरेको थियो। लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा सहज बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो।

खेलको इन्ज्युरी समयमा खेल तनावपूर्ण अवस्थामा पनि पुगेको थियो। लाओसका गोलकिपर र नवीन लामाबीच नोकझोक चलिरहँदा अनन्त तामाङ र सनिस श्रेष्ठ पनि मिसिँदा अवस्था तनावपूर्ण बनेको थियो। प्यारापिटबाट समर्थकहरुले पानीको बोतल प्रहार गरेका थिए। विजेता नेपालले ५ हजार अमेरिकी डलर र लाओसले ३ हजार डलर पुरस्कार पाएका छन्।