सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जित्यो।

विराटनगर:= सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जितेको छ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै विराटनगर सिटीले उपाधि हात पारेको हो ।

यो जितसँगै विराटनगर सिटीले ६१ वर्षपछि उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो।

विराटनगर सिटीको जितमा अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरे । विराटनगरले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ ।