काठमाडौं := भनिन्छ – आमा महान् हुन् । कोहलपुर- २, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन्।
कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन । अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’
शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी विक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ ।’
उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसइई दिन पाउने भएका हुन् ।



















