बिराटनगर:= कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा ठुलो झडप भएको छ। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ।

प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन्। मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

मुख्यमन्त्री कार्यालय नजिकै रहेकाे होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारीलाई प्रहरीले राेकेकाे थियाे । आन्दोलनकारीले हाेटल विगकाे कफी सपकाे सीसा पनि फुटाइदिएका छन् ।
केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् – झन चर्किएको छ ।





















