काठमाडौं:= राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ। तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन ।
केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ। ‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भन्नुभयो ।

‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उहाँको भनाइ छ । पशु चिकित्सकद्वय डा. अवधेश झा र डा. पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




















