प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय।

दिल्ली:= भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ। गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो ।

साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ। सन् २०१९ को लोकसभा चुनावका क्रममा कर्नाटकको एउटा कार्यक्रममा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो ।

उनले त्यतिबेला भनेका थिए ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’  सुरतको अदालतमा सुनुवाईका बेलामा गान्धी पनि उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राहुल गान्धीका वकिलले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उनले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्‍याउन नचाहेको बताएका थिए ।