प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल: लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपाल विजयी।

काठमाडौं:= आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा  विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । अनन्तको यो नेपालका लागि तेस्रो गोल हो ।

त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट गोल गरे । नेपालका लागि उनको यो आठौं गोल हो। खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए ।

तर यो नजिता हात पार्न नेपालले घरेलु मैदानमा निकै संघर्ष गर्नुपर्यो। नेपाल फुटबल पछिल्लो केहि महिनादेखि खेलाडी पलायनको समस्यासँग जुधिरहेको छ । राष्ट्रिय टिमबाट नियमित खेल्ने खेलाडीले समेत विदेशलाई गन्तब्य बनाउँदा राष्ट्रिय टिमको सन्तुलन विग्रिएको बुधबार दशरथ रंगशालामा भएको खेलमा प्रष्ट देखिएको थियो। जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।