काठमाडौं := आईसीसी क्रिकेट विश्वकप लिग-२ मा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।
शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।साथै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सरकारी निवास बालुवाटार बोलाएर विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रति खेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रचण्ड’ले भने । बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।




















