मलेसियन अभिनेत्री मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री।

Malaysian actress Michelle Yeoh poses with the Oscar for Best Actress in a Leading Role for "Everything Everywhere All at Once" in the press room during the 95th Annual Academy Awards at the Dolby Theatre in Hollywood, California on March 12, 2023. (Photo by Frederic J. Brown / AFP)

एजेन्सी := मलेसियामा जन्मेकी अभिनेत्री मिसेल योह सर्वश्रेष्ठ अभिनेत्रीको विधामा ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ट्रफी उचालिन्।

‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः योहले अवार्ड जितेकी हुन् । ड्यानियल क्वान र ड्यानियल सिनर्टद्वारा निर्देशित उक्त फिल्ममा योहले एभिलन वाङ नामक एक चिनियाँ पात्रको भूमिका निर्वाह गरेकी छन्।

‘आजको रात साना केटाकेटीको लागि आशा र सम्भावनाको किरण हो,’ मञ्चमा अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘मेरो जित सपना साकार हुन्छ भन्ने प्रमाण हो । महिला साथीहरु तपाईंहरुले आफ्नो महत्वपूर्ण समय पार भयो भनेर नभन्नुस् । कहिल्यै हार नमान्नू ।’

योहले यो पुरस्कार आफ्नी आमा र विश्वका सबै आमालाई समर्पित गरिन् । ‘उनीहरू वास्तविक सुपरहिरो हुन् । तिनीहरू बिना हामी कोही पनि आज राति यहाँ हुने थिएनौं,’ उनले भनिन्। ओस्कारमा अभिनेत्री योह ओस्कार जित्ने तेस्रो महिला हुन् । यसअघि ‘मिनारी’का लागि युह-जुंग युन र “सियोनारा”का लागि मियोशी उमेकीले जितेका छन् । तर सर्वश्रेष्ठ अभिनेत्री विधामा जित्ने योह पहिलो एसियाली अभिनेत्री हुन् ।

 

यो विधामा जित्दै योहले ‘टार’ अभिनेत्री केट ब्ल्यान्चेट, ‘द फाबेलम्यान्स’का लागि मिसेल विलियम्स, ‘टु लेस्ली’का लागि एन्ड्रिया रिसबोरो र ‘गोलो’का लागि एना डे आर्मासलाई पछि पारिन् । मिसेलले सोही फिल्मबाट यसअघि साग अवार्ड, इन्डिपेन्डेन्ट स्पिरिट अवार्ड र गोल्डेन ग्लोब्समा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छन् ।