नागरिक उन्मुक्ति र माओवादीको कारण सकसमा मुख्यमन्त्री कमल बहादुर शाह।

धनगढी := सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत नदिने भएको छ भने नागरिक उन्मुक्ति पार्टीले लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसकिने प्रस्ट पारेको छ। माओवादी प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल बहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले ‘यथास्थितिमा विश्वासको मत दिने अवस्थामा आफूहरू नभएको’ बताए । ‘लिखित प्रतिबद्धता नभएसम्म विश्वासको मत दिन नसकिनेगरी स्पष्ट निर्णय भएको छ,’ उनले भने ।

माओवादी प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबीसमेत गरेको छ । तर, यसका लागि कांग्रेसले ‘संवादको वातावरण नबनाएको’ भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो । शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन समस्या हुने छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।