सरकारले कच्चा दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढायो।

काठमाडौं:= सरकारले कच्चा दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिइन्।

बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको जानकारी उनले दिए। किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो।

अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।

किसानको मूल्यमै प्रतिलिटर ठूलो मूल्यवृद्धि गरिएपछि अब दूधको उपभोक्ता मूल्य सामान्य मानिसको पहुँच भन्दा महँगो हुने भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् ।