एक बर्षमा तनहुँ कारागारबाट थुनामुक्त भए पल शाह।

तनहुँ := नेपाली फिल्म क्षेत्रका अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् ।

नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए। सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे। समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।