राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापामगर सर्वसम्मत निर्वाचित।

काठमाडौं := राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि धादिङबेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ ।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत हुनुभएको छ । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित पशुपति शर्मा

त्यस्तै प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत हुनुभएको छ । उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठनिक) र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन हुनुभएको छ ।

महासचिवमा निर्वाचित  शिव हमाल

त्यस्तै सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेशबाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । सबै पदमा केही दिनअघिदेखि नै सर्वसम्मतको प्रयास भएको थियो। खुला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुला सचिव, खुला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।  यो महाधिवेशनले ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।