युएई := सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको छ । नेपालले युएईमा जारी आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।
ईडन ग्राडेन ओभल अजमानमा नेपालले दिएको २६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सात विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो । सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । सिधान्त श्रीकान्तले ४४ रन जोड्दा अर्जुन नागपल र अभुद्य चाजेरले १४-१४ रन जोडनुभयो ।
नेपालका हेमन्त धामी र सुवाष भण्डारीले दुई-दुई विकेट लिनुभयो । विशालविक्रम केसीले एक विकेट लिनुभयो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।
पहिलो पटक यु-१९ राष्ट्रिय टोलीमा स्थान बनाउनुभएका उहाँले १०० बलमा सात चौका र एक छक्काको सहयोगमा ७८ रन बनाउनुभएको थियो । दोस्रो विकेटका लागि अर्जुन कुमालसँग मिलेर ९३ रनको साझेदारी गर्नुभउका त्रिपाठीले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ३७ रनको साझेदारी गर्नुभयो ।
विशालविक्रम केसीले ५४ बलमा अविजित ६३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । केसीले चार चौका र दुई छक्का प्रहार गर्नुभएको थियो । ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुँदा अर्का ओपनर दीपक बोहोरा पाँच रन बनाएर आउट हुनुभएको थियो ।
कप्तान देव खनाल २१ रनमा आउट हुँदा दीपक बोहोराले १७ रन बनाउनुभयो । सुवास भण्डारीले अविजित १२ रन बनाउँदा दीपक डुम्रेले १० रन जोडनुभयो । मिलन बोहोराले चार रन बनाउँदा सिगांपुरले १४ रन अतिरिक्तमा दिएको थियो । सिंगापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान दुई-दुई विकेट लिनुभएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङ्कङ, मलेसिया र आयोजक युएईको सहभागिता छ ।
दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्ने नेपालले हङ्कङविरुद्ध सोमबार तेस्रो खेल खेल्नेछ । तेस्रो खेलमा मंगलबार मलेसियाको सामना गर्ने नेपालले बिहीबार घरेलु टोलीसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकपका लागि छनोट हुनेछन् ।




















