एजेन्सी := भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया आइसिसी महिला ट्वान्टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया लगातार तेस्रोपटक महिला ट्वान्टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार राति १७३ रनको लक्ष्य पूरा गर्न ६ रनले चुकेपछि साविक उपविजेतासमेत रहेको भारत प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो। १७३ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६७ रनमात्र बनाउन सक्यो ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा १७२ रन बनाएको थियो । भारतकी कप्तान हर्मनप्रित कौरले ५२ रन बनाउनुभयो । जेमिमाह रोड्रिगेजले ४३, दीप्ति शर्माले २०, ऋचा घोसले १४ र स्नेह रानाले ११ रनको योगदान गर्नुभयो।
अष्ट्रेलियाकी अस्लेघ गार्डनर र डार्सी ब्रोनले समान दुई विकेट लिनुभयो । मेगन सट र जेस जोनासनले एक-एक विकेट झार्नुभयो । त्यसअघि, अष्ट्रेलियाकी बेथ मुनीले ५४ रन बनाउनुभएको थियो । कप्तान मेग लानिङले अविजित ४९, अस्लेघ गार्डनरले ३१ र ओपनर एलिसा हेलीले २५ रन जोडनुभयो ।
भारतकी शिखा पान्डेले दुई विकेट लिनुभयो। दीप्ति शर्मा र राधा यादवले एक-एक विकेट लिनुभयो। अष्ट्रेलियाले विश्वकपका पछिल्ला ६ संस्करणमध्ये पाँचको उपाधि जितेको छ।अष्ट्रेलियाले अब उपाधिका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ।विश्वकपको फाइनल खेल यही फागुन १४ गते आइतबार हुनेछ।




















