पोर्चुगलको एक क्याथोलिक चर्चमा हजारौं बालबालिको यौन शोषण भएको खुलासा।

लिस्बन:= पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरूले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हो ।

सन् १९५० पछिका यौन शोषणका घटनाको अनुसन्धान गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा हजारौं बालबालिका यौन शोषणको शिकार भएका छन् । जसमध्ये चार हजार ८१५ जनाले आफूमाथिको अत्याचारको बारेमा बोल्ने हिम्मत गरेको खुलासा भएको उल्लेख गरिएको छ ।

आयोगको नेतृत्व गरेका मनोचिकित्सक पेड्रो स्ट्रेचले आफूहरूले थाहा पाएको आँकडा ज्यादै कम रहेको भन्दै करिब दुई लाख बालबालिका यौन शोषणको शिकार भएको बताउनुभएको छ । उहाँले त्यसमा तीन हजार पादरी संलग्न रहेको संकेत गर्नुभएको छ । पेड्रोका अनुसार यौन शोषण गर्नेमा ७७ प्रतिशत चर्चका पादरीहरू हुन् ।

उनीहरूले चर्च, क्याथोलिक स्कुल, पादरीका घर र धर्म कबुल गर्ने अखडालगायतका स्थानमा बालबालिकाको यौन शोषण गरेका थिए । यौन शोषणको शिकार हुने बालबालिकाको उमेर १० देखि १४ वर्ष रहेको र त्यसमा पनि अधिकांश किशोर रहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको सिएनएनले जनाएको छ । एजेन्सी ।