टर्की भूकम्प पीडितका लागि नेपाल सरकारले पठायो २२ टनभन्दा बढी राहत सामग्री।

काठमाडौं := नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्री सहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनःस्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरेअनुसार राहत सामग्री सोमबार पठाएको हो । यसअघि ०८ फेब्रुअरी २०२३ मा परराष्ट्र मन्त्री विमला राई पौड्यालले टर्कीका समकक्षी एच ई मिस्टरसँग टेलिफोन वार्ता गरेर नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नुभएको थियो।

मन्त्रालयका अनुसार टर्कीको विनाशकारी भूकम्पमा अमूल्य जीवन गुमाउने र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै परराष्ट्र मन्त्री राईले टर्कीका जनतासँग ऐक्यबद्धताका लागि सबै सम्भव सहयोग गर्न नेपाल तयार रहेको जनाउनुभएको थियो। परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नका लागि सहयोग गर्ने तथा उद्धार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ।

३४ हजारभन्दा बढीको मृत्यु
टर्कीमा गत सोमबार गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ । भूकम्प गएको एक हप्ता बितिसक्दासमेत भग्नावशेषमा च्यापिएका मानिसहरूको खोजी कार्य जारी रहेको छ । मृतकको संख्या पनि बढिरहेको छ । टर्कीमा पछिल्लो समयसम्म मृत्यु हुने संख्या २९ हजार ६०५ पुगेको छ भने सिरियामा चार हजार ५७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कठ्यांग्रिने चिसोका कारण खोजी, उद्धार र पुनःस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरूले राहत पाउन सकेका छैनन् । उनीहरूलाई ओत लाग्ने त्रिपालको समेत अभाव छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएको छ ।

भग्नावशेषभित्र पुरिएको १६३ घण्टापछि दुई जनाको उद्धार
भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । गत सोमबारको विनाशकारी भूकम्पपछि भत्किएका भवनको भग्नावशेषमा करिब सात दिनसम्म फसेका एक बालक र ६२ वर्षीया महिलालाई चमत्कारिक रूपमा उद्धार गरिएको हो ।

सात वर्षीय मुस्तफालाई दक्षिणपूर्वी टर्कीको हताय प्रान्तबाट उद्धार गरिएको छ भने नाफिज यिल्माजलाई नुर्डागीबाट उद्धार गरिएको छ । दुवैजना १६३ घण्टासम्म भग्नावशेषमा फसेका थिए । टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार टर्कीका ३२ हजारभन्दा बढी व्यक्ति खोजी तथा उद्धारकार्यमा जुटेका छन् भने आठ हजार २९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्ताले पनि उद्धार गरिरहेका छन् ।

बेलायती खोजी टोलीका एक सदस्यले आइतबार ट्वीटरमार्फत् पोष्ट गरेको भिडियोमा एक उद्धारकर्ताले भग्नावशेषबाट बनेको सुरुङबाट तल झरेर भग्नावशेषमा रहेका टर्कीका एक व्यक्तिलाई उद्धार गरिएको देखिन्छ । खोज टोलीहरू समय बित्दै जाँदा हराइरहेका थप व्यक्तिहरूको उद्धारमा खटिरहेका छन् ।

विशेषज्ञहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू फेला पार्ने आशा प्रत्येक दिन धुमिल बन्दै गएको बताएका छन् ।
उद्धार टोलीहरूले सेन्सर र उन्नत खोजी उपकरणहरूको अभावमा काम गरिरहेको र यसले उद्धारमा ढिलाइ भएको बताएका छन् । उद्धारकर्ताहरूले सावधानीपूर्वक बेल्चा तथा अन्य हाते उपकरण भग्नावशेषलाई खन्न र अवरोध हटाउन बाध्य भएको बताएका छन् ।

एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित
भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् । भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्किएका छन् । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको छ ।

स्थानीय समयानुसार गत सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको थियो।