एजेन्सी := टर्की र सिरियाका दशौं लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौं हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आइतबार बिहान सात महिनाको एक शिशु र अर्की एक किशोरीलाई भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । शनिबार पनि एक ७० वर्षीयालाई जीवितै उद्धार गरिएको थियो ।
भूकम्पको करिब एक सातापछि पीडितहरूलाई जीवित उद्धार गर्न सफल भएकामा उनीहरूले त्यसलाई चमत्कार भन्दै हर्ष प्रकट गरेका छन् । दक्षिणी टर्कीमा केही परिवार हराइरहेका आफ्ना परिवारको खोजीमा उद्धारकर्मीसँगै जुटेका छन् । शोकाकुल अर्को परिवार चिहानमा परिणत खेतमा बिलौना गरिरहेको छ । उक्त खेतमा हजारौं शव व्यवस्थापन गरिएको छ।
सुरक्षाको कारण देखाउँदै केही सहायता निकायले राहत सामग्री वितरण रोकेपछि दर्जनौंलाई लुटपाट मच्चाएको अभियोगमा पक्राउ गरिएको सरकारी समाचार समितिले जनाएको छ । जर्मनी र अष्ट्रेलियाले शनिबार केही स्थानमा राहत सामग्री वितरण स्थगन गरेका थिए । केही ठाउँमा झडप भएको थियो ।
कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको पहिलो भूकम्प र त्यसको केही क्षणपछि त्यति नै शक्तिशाली अर्को कम्पबाट तहसनहस भएको टर्की र सिरियाका दुई करोड छब्बीस लाख मानिस प्रभावित भएका छन् ।
संयुक्त राष्ट्रसंघले टर्की र सिरियाका आठ लाख ७० हजार भूकम्पपीडितलाई तत्काल तातो खाना आवश्यक परेको बताएको छ । उक्त विश्व संस्थाले सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका अनुमान गरेको छ । भूकम्पले दर्जनौं अस्पताल ध्वस्त भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन निकायले देशका विभिन्न सामाजिक संस्थाका ३२ हजारभन्दा बढी स्वयंसेवकका साथै आठ हजार दुई सय ९४ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका जनाएको छ । टर्कीको गाजिन्टेपका चमेनागृहमा हजारौं स्वयंसेवक भूकम्पपीडितलाई खुवाउन हरसंभव सहयोग गरिरहेका छन् । आफ्नो गाडीलाई नै शयन कक्षमा परिणत गरेर केही स्वयंसेवक सेवामा तल्लीन छन् ।
संयुक्त राष्ट्रसंघले कुर्दिश लडाकु र सिरियाली विद्रोही सक्रिय रहेका क्षेत्रमा मानवीय सहायता परिचालनमा अवरोध नगर्न आहृवान गरेको छ । साथै उक्त संस्थाले मानवीय सहयोग परिचालनमा सघाउन आग्रह गरेको छ । राहत सामग्री ढुवानीका लागि पैँतीस वर्षपछि आर्मेनिया र टर्कीबीचको बाटो पनि खोलिएको छ । शनिबारदेखि उक्त बाटो सञ्चालनमा आएको हो ।
एलेप्पोमा चिकित्सा सहयोग
सहयोग वर्षौंको आन्तरिक द्वन्द्वका कारण कमजोर रहेको सिरियाको स्वास्थ्य सेवा प्रणाली नाजुक छ । त्यहाँ स्वास्थ्यलगायत राहत सामग्री परिचालनमा पनि विलम्ब भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख आपत्कालीन स्वास्थ्य सामग्री र उपकरण लिएर भूकम्प प्रभावित एलेप्पो पुगेका छन् । उनले भूकम्पबाट मातापिता तथा अभिभावक गुमाएका बालबालिकालाई भेटेका छन् ।
सिरिया सरकारले पनि भूकम्प प्रभावित विद्रोही नियन्त्रित क्षेत्रमा मानवीय सहायता सामग्री ढुवानीको अनुमति दिएको छ । राजधानी दमास्कसमा विभिन्न देशबाट राहत सामग्री लिएर ५७ वटा विमान अवतरण गरेका त्यहाँका यातायातमन्त्रीले बताएका छन् ।
टर्कीले पनि सिरियासँगका दुईवटा नयाँ सीमा नाका खोल्ने बताएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषद्लाई टर्की र सिरियाबीचका सीमा नाका खोल्ने अनुमतिका निम्ति आग्रह गर्नुभएको थियो ।
जनमानसमा आक्रोश
भूकम्पमा घर, परिवारसँगै सर्वस्व गुमाएका पीडित गुणस्तरहीन भवन निर्माता तथा सरकारीस्तरका उद्धार तथा राहतमा विलम्ब भएकामा जनसाधारण आक्रोशित भएका छन्। अधिकारीहरूका अनुसार १२ हजार एक सय ४१ भवन भत्केका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौं निर्माण व्यवसायीलाई पक्राउ गरेको छ ।
अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । सिरियाका भूकम्प प्रभावित क्षेत्रमा खाना, पानी, बस्नेस्थान, उपकरण केही नभएकाले सेवा प्रवाह हुन नसकेको चिकित्सकले बताएका छन् । सिरियाका स्वास्थ्यमन्त्री हसन अल गब्बासले संयुक्त राष्ट्र संघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थालाई सहयोगका निम्ति आहृवान गर्नुभएको छ ।
रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सिरियन रेड क्रिसेन्टलाई आपत्कालीन मानवीय सहायतास्वरुप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ । साथै समितिले भूकम्प प्रभावित क्षेत्रमा थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
सिरियाका लागि युरोपेली संघका राजदूतले भूकम्पपीडितलाई संघले पर्याप्त सहयोग नगरेको आरोपको खण्डन गरेका छन् । भूकम्प प्रभावित दुवै देशका लागि पर्याप्त सहयोग उपलब्ध गराउन संघ असफल भएको आरोप लगाउनु उचित नभएको उनले बताएका छन् । एक दशकभन्दा लामो समयदेखि संघले सिरियालाई निरन्तर सहयोग गर्दै आएको तथा भूकम्पले सृजना गरेको संकटको यो घडीमा अझ बढी सहायता सिरियाका निम्ति परिचालन गरिएको दाबी उनले गरेका छन् ।
विश्व ब्यांकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आहृवान गर्नुभएको छ । साथै उहाँले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।
उद्धारकर्मीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सिरिया र टर्कीमा २९ हजार एक सय १७ जनाको मृत्यु भएको छ । टर्कीमा २४ हजार छ सय १७ जना तथा सिरियामा चार हजार पाँच सयजनाले ज्यान गुमाएका छन् । संयुक्त राष्ट्रसंघले महाभूकम्पबाट ५० हजारले ज्यान गुमाएका अनुमान गरेको छ । गत सोमबारदेखि आजसम्म टर्कीमा दुई हजार तीन सय ५६ परकम्प महसुस गरिएको छ ।
अठ्ठाइस हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार १९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
पछिल्लो समयसम्म टर्कीमा २४ हजार ६१७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताउनुभएको छ । सिरियामा तीन हजार ५७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार १६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयंसेवी संस्थाका प्रतिनिधिले बताएका छन् ।
विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।
इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताउनुभएको छ । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उहाँले दिनुभएको छ । रासस/एएफपी ।



















