जनयुद्ध दिवसका अवसरमा आज फाल्गुन १ गते सार्वजनिक बिदा।

काठमाडौँ:= सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जनयुद्ध दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली रहेको बताउनुभएको छ ।

जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले जनयुद्धको जगमास्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको हो ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपांग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको बताउँदै साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्ट्रियता प्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको जिकिर गर्नुभएको छ ।

वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको उहाँको भनाइ छ ।