राष्ट्रपति भण्डारी सवारी विवाद: जनतालाई दु:ख दिने तामझाम शैली बदल्न आवाज।

President Bidhya Devi Bhandari with cargade to moving for Federal Parliament for addressing the joint meeting at Baneshwor in Kathmandu on Thursday, 29 March, 2018. Photo: Dipesh Shrestha/Nagarik/Republica

काठमाडौं:= शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि सडक खाली गराउने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथ सिंहको टाउकामा प्रहरीको डन्डा बज्रियो। त्यसले सिर्जना गरेको तरंग शनिबार दिउँसोभरि चलिरह्यो। घटनापछि नेपाल चिकित्सक संघलगायत विभिन्न संघसंस्था आन्दोलित बनेका छन् ।

चिकित्सक संघले शनिबार विज्ञप्ति नै जारी गरी डा. सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको भन्दै त्यसको विरोधमा आइतबार देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।

संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भिभिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पार्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीका नाममा अस्वाभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घन्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।