एजेन्सी:= स्पेनिस क्लब रियल म्याड्रिड “फिफा क्लब विश्वकप” फुटबलको च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।
रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थपे । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे।
मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति गोलको वर्षा भएको खेलको १३औं मिनेटमा भिनिसियसको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
१८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले मोहम्मद कानोको पासमा गोल गरेपछि पहिला हाफमा २–१ को स्थितिमा टुंगिएको थियो ।

५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।
६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले साउद अब्दुलहामिदको पासमा गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले ड्यानियल सेवालोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो। ७९औं मिनेटमा लुसियानो डारियो भिट्टोले माइकलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।

रियल पाँचपटक फाइनल पुग्दा पाँचैपटक च्याम्पियन बन्न सफल भएको हो । सन् २०१४ मा सान लोरेन्जोलाई हराएर पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो। रियलले २०१६ मा कासहिमा एन्टलर्स, २०१७ मा ग्रेमियो र २०१८ मा अल एइनलाई पराजित गर्दै ह्याट्रिक उपाधि जितेको थियो।



















