मिस नेपाल-२०२३ प्रतियोगिताका लागि आवेदन खुला।

काठमाडौं := द- हिडेन ट्रेजर मिस नेपालले– २०२३ प्रतियोगिताको लागि आवेदन खुलाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए।

उहाँले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताउनु भयो। यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउनु हुँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताउनु भयो ।

इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ। कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जित्नु भएकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जित्नुभएका डा. सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जित्नुभएका प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाउनु भएको थियो ।