तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न अर्थ मन्त्रालयको निर्देशन।

काठमाडौं := अर्थ मन्त्रालयले आगामी तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ। सोमबार अर्थ मन्त्रालयमा बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दैै २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/०७४ देखि लेखापरीक्षण हुन बाँकी छ। अर्थमन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति थियो ।