राजधानीमा ख्यातिप्राप्त ब्राण्डको नामको नक्कली मदिरा कारोबारको बिगबिगी।

ललितपुर := ललितपुरमा ख्यातिप्राप्त विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि नक्कली मदिरा कारोबारको रहस्य खुलेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको छ ।

यस्तै, उक्त कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको छ । उपत्यकामा स्वदेशी र विदेशी ब्रान्डका नक्कली तथा गुणस्तरहीन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका नीरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना सञ्चालक र दुईजना बिक्रेता भएको प्रहरीले जनाएको छ ।

नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्क लगायतका क्षेत्रबाट बिक्री हुने गरेको खुलेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली रक्सी उत्पादन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखा घर भई ललितपुरको कुपण्डोल बस्दै आएका २७ वर्षीय निरज उप्रेती, स्याङ्जा घर भई टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली घर भई ललितपुरको टीकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर छन् । उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली तथा गुणस्तरहीन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयले अपरेशन लिमा-२ सञ्चालन गरी प्रहरी खटाएको थियो ।

उप्रेतीले कुपण्डोलमा नेक्स्ट टेष्ट लिक्वेयर स्टोर सञ्चालन गर्दै आएका थिए । गत शुक्रबार प्रहरीले उनको पसलमा छापा मारेको थियो । त्यहाँबाट नक्कली रक्सी ‘खुकुरी रम’ बरामद गरेको हो । यस्तै, अनुसन्धानको क्रममा प्रहरी काठमाडौंको एसटी लिक्वेयर स्टोरमा पनि पुगेको थियो । उक्त स्टोर धर्मीले सञ्चालन गर्दै आएकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथलीस्थित टहरामा बसेर नक्कली रक्सी बनाउने गरेको खुलेको हो । रक्सी उत्पादन गर्ने ठाउँ पनि उनीहरूले फेरिरहने गरेको पाइएको जानकारी दिँदै एसएसपी केसीले भन्नुभयो, ‘एकचोटिमा १० देखि १२ कार्टुनसम्म नक्कली रक्सी बनायो । अनि बजारमा पठाइहाल्ने गरेको देखिन्छ । एकै ठाउँमा बसेर उत्पादन पनि नगर्ने देखियो । ठाउँ पटक-पटक सरिरहेको पायौँ ।’

प्रहरीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खाली बोतल, राजस्व अन्तरशुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ । नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको जानकारी दिनुभयो । उहाँले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरू पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसरी भइरहेको थियो व्यापार

अनुसन्धानमा संलग्न एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले बोतलमा केही मात्रा सक्कली रक्सी नै हाल्थे र त्यसमा थप रसायन, रंगलगायत हालेर प्याकेजिङ गर्ने गरेको बताउँदै भन्नुभयो, ‘ठमेलका होटल, रेष्टुरेन्ट, क्लबहरूमा ठूलो मात्रामा रक्सीको व्यापार हुन्छ । त्यहाँबाट बोतलहरू उठाउने पनि छुट्टै व्यक्तिहरू छन् । ती व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूले बोतल ल्याएको देखिन्छ । स्टिकरहरू पनि फेरि प्रयोग गर्न मिल्ने निकाल्ने गरेको देखिन्छ ।’

नक्कली मदिरा उत्पादन गर्ने उनीहरूले बोतलको प्रयोग गर्दा अन्तशुल्कका स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिएको छ। प्रहरीले यसअघि पनि नक्कली रक्सीहरू बरामद गरेको थियो। एकैचोटि धेरै खपत हुने हुँदा त्यस्ता रक्सीहरू पार्टी प्यालेसमा बेच्ने गरिन्थ्यो । तर, उनीहरूले यसपालि पसलहरूमै लगेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले यसरी मदिरा बेच्दा पसल सञ्चालकको पनि मिलेमतो हुने गरेको प्रहरी बताउँछ । बजार मूल्यभन्दा सस्तोमा बेचेर पनि ठूलो नाफा कमाउन उनीहरूले यसरी कालोबजारी गरेको एसएसपी केसीले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । उनीहरूलाई कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने प्रहरीको तयारी छ ।