क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन्।
राजदूत पौडेलले मलेसियाका गृहमन्त्री दातोक श्री सैफुद्दिन नासुसन बिन इस्माइल र मानव संशाधनमन्त्री भी- शिवकुमारसँग उहाँहरुकै मन्त्रालयकक्षमा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल सम्पन्न गर्नुभएको हो।

सो भेटघाटको अवसरमा राजदूत पौडेलले दुईजना मन्त्रीहरुसंग नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा सङ्ख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचार विमर्श भएको नेपाली राजदूतावासले जनाएको छ।
नेपाली श्रमिक शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको दूतावासले बताएको छ।

जानकारी अनुसार उनीहरूले द्विपक्षीय, क्षेत्रीय तथा वहुपक्षीयस्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्न एकअर्कालाई सहयोग गर्दै अघि बढ्नेबारेमा छलफल गरेका थिए।
त्यस्तै भेटको क्रममा राजदूत पौडेलले दुई मन्त्रीद्धयलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको थियो। जवाफमा गृहमन्त्री दातोक श्री सैफुद्दिन नासुसन बिन इस्माइलले निकट भविष्यमा आफ्नो नेतृत्वको उच्चस्तरीय टोलिले नेपाल भ्रमण गर्न जाने इच्छा रहेको बताए।
गृहमन्त्री इस्माइलको भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्रीले नेपाली अधिकारीहरुसँग छलफल गर्नुहुने दुतावासले जनाएको छ् । तर गृहमन्त्री इस्माईलको नेपाल भ्रमण कहिले हुने भन्नेबारेमा भने दुतावासले केहि खुलाएको छैन।



















