कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश।

काठमाडौं := कलाकार तथा मोडल एलिजा गौतम रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन्।

उक्त दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको गौतमले बताउनुभयो । ‘मलाई देशका पुराना दलबाट पनि ती पार्टीमा प्रवेशका लागि प्रस्ताव आएका थिए । तर, म युवा भएको र यस पार्टीले बोकेको उद्देश्यबाट प्रभावित बनेकाले यो दल रोजेको छु ।

आजबाट मेरो राजनीतिक यात्राको आरम्भ भएको छ । म यो राजनीतिक यात्राको क्रममा हजारौं पटक आफूलाई जनताको सेवाको अधिकतम परीक्षामा होम्याएर पास गराउन चाहन्छु । यो मेरो प्रण हो,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । नायिका गौतम नेपालको चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् । उनी पछिल्लो समय समाज सेवामा पनि सक्रिय थिइन्।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन्।