बुटवल:= नेपालको ७४ वर्षे हवाई इतिहासमा पहिलो पटक काडमाडौंबाहिर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जनभन्दा बढी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो।
गत जेठ २ गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरहवा आउने बताएका थिए । श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका एयर कम्पनीले भैरहवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो।
विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरहवा–आबुधाबीका लागि बिज एयरवेजले सातामा तीनवटा उडान गर्नेगरी प्रक्रिया थालिसकेको त्यतिबेलै बताएका थिए । तर अहिले ‘बिजनेस’ अभावको कारण देखाउँदै बिज एयरवेज पछाडि हटिसकेको छ।
भैरहवाबाट उडान गर्न आतुर रहेका भनिएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एकाएक किन पछाडि हटिरहेका छन् त ? यसको जबाफ न प्राधिकरणसँग छ, न सरकारसँग । बरु यसअघि सातामा तीन दिन अन्तर्राष्ट्रिय उडान गर्दै आएको जजिरा एयरवेजसमेत भैरहवाबाट काठमाडौं नै फर्किएको छ । चार्टर्ड उडान गर्दै आएको हिमालय एयरलाइन्स पनि फर्केर काठमाडौं गएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।




















