काठमाडौं := अहिलेको नेपाल सरकारको उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित सांसद प्रतिनिधि सभा बैठकमा सहभागी हुने गरेको भन्ने प्रश्नको जवाफ दिएका छन्। बिहीबार बसेको संसदको बैठकमा बोल्दै गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताए।
यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा हत्या आरोपितसमेत उपस्थित हुने गरेको सम्बन्धी प्रश्न उठाएका थिए। उनले नेकपा एमालेबाट महोत्तरी-१ बाट निर्वाचित सांसद लक्ष्मी कोइरी महत्तोमाथि लक्षित गर्दै प्रश्न उक्त प्रश्न गरेका थिए।
सांसद खतिवडालाई जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘सभाध्यक्षबाट रूलिङ भएको विषय त होइन। तर माननीय सदस्यले उठाउनुभएकोले म त्यसको जवाफ दिन चाहन्छु। फरार रहनुभएका मानिस हुनुहुन्छ, उहाँलाई पक्रनको लागि भन्नुभयो। गृह मन्त्रालय विधि, पद्धतीभन्दा एक इन्च बाहिर निस्किँदैन। यो ग्यारेन्टी गराउन चाहन्छु। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैले दबाब र प्रभाव दिनुहुने छैन भन्ने यसअगाडि नै सदनलाई जानकारी गराइएको छ।’
कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।
उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।




















