आफ्नो भविष्य बनाउन विदेश लागे राष्ट्रिय खेलाडी रञ्जन विष्ट र नितिन थापा।

काठमाडौं:= नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडी विदेशिएका छन् । राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका रञ्जन विष्ट र नितिन थापा बुधबार अस्ट्रेलिया प्रस्थान गर्नुभएको हो ।रञ्जनले एनआरटी र नितिनले मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्नुहुन्थ्यो।

रञ्जन नेपालले सन् २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा टोलीको सदस्य हुनुहुन्थ्यो । नितिन तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपालले स्वर्ण पदक जित्दा टोलीमा हुनुहुन्थ्यो।

पछिल्लो तीन वर्षमा झण्डै दुई दर्जन बढी खेलाडीहरू नेपाल छोडेर विदेशिन बाध्य भएका छन् । यसै साता राष्ट्रिय टोलीको पहिलो रोजाइका खेलाडीहरू तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गर्नुभएको थियो।

आगामी फागुन १९ गतेदेखि हुने लिगका लागि डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ चर्च ब्वाइज क्लबमा अनुबन्धित हुनुहुन्थ्यो भने डिफेन्डर गौतम श्रेष्ठ संकटा क्लबमा अनुबन्धित हुनुभएको थियो।

उहाँहरूसँगै राष्ट्रिय टिमबाट खेल्ने आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल, विमल राना, हेमन्त थापामगर हुनुहुन्छ । त्यस्तै, सञ्जोग राई, विवेक बस्नेत, जगजित श्रेष्ठ, एलन न्यौपाने, विमल बस्नेत, हेमन गुरुङ, अमिर श्रेष्ठ, शिव गुरुङ, नवीन गुरुङ, निरज बस्नेत, मिक्चेन तामाङलगायत खेलाडीहरू विदेशिसक्नुभएको छ।