काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी कार्कीले सम्हाले।

काठमाडौं := जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा हुनु भएको थियो ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो। कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो। प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उहाँको भनाइ थियो ।

बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।