चितवनमा माघी (खिचरा) महोत्सव बिहीबारदेखि सुरु हुने।

चितवन:= थारु समुदायको प्रमुख चाडपर्व माघी नजिकिँदै गैइरहेको छ। तराई – मधेसमा माघीको रौनक सुरु भैइसकेको छ। सोही क्रममा पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि माघी खिचरा महोत्सव आयोजना हुने भएको छ ।

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो । यही पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ । बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको संयोजक चौधरीले जानकारी दिनुभयो । महोत्सवबाट यो जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव स्थलमा घोँगी र पोका (चिचर)को मूर्तिसमेत राखिनेछ । त्यसबाहेक ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक कक्ष हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ ।

महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । यसको सम्पूर्ण तयारी करिब पूरा भएको आयोजकको भनाइ छ । रासस