त्रिभुवन विमानस्थलमा जफत गरिएका १५१ मोबाइल लिलामी बिक्रीमा।

काठमाडौं := त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुहरुबाट जफत गरिएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ।

विमानस्थलभित्र यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि तोकिएको समयसिमाभित्र सम्बन्धित मोबाइल धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गर्दछ्न।

‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् । विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था छ । सोभन्दा बढी ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ ।

तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा र सम्पर्कमा नरहेमा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ । गोप्य शिलबन्दीमार्फत बढी मूल्य तिर्ने फर्म तथा संस्थाले ती फोन खरिद गर्न पाउने छन् ।