थाकस युएईले माघी मनाउँदै, नेपालबाट अतिथि प्रेमीलाल चौधरी र गायिका समिक्षा चौधरी जाँदै।

[ आरएन चौधरी थारु ] 

दुबई (युएई ):= “थारु कला र संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा दुबई (युएई) ले आफ्नो ९ औं बार्षिक भेला तथा थारु समुदायको प्रमुख चाड तिला संक्रान्ति , खिचरा , माघ (माघी) पर्व एवंम थारु नयाँ बर्ष-२६४६ भब्य कार्यक्रम आयोजना गरि मनाउने भएको छ।

यहीँ मिति सन् २०२३ जनवरी १५ तारिख आईतवारको दिन दिउँसो ०१:०० बजेदेखी युएईको क्लब एभरेस्ट अस्टोरिया होटल बर दुबईमा माघी कार्यक्रम आयोजना हुने भएको आयोजक संस्था थारु कल्याणकारिणी सभा युएईले जनाएको छ।

सो माघी महोत्सवमा थारू कल्याणकारिणी सभा केन्द्र नेपालका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिनुभयो।

त्यस्तै नेपालबाट कलाकारबाट यसपटक चर्चित गायिका समीक्षा चौधरी दुबई जाने भएकी छन्। संयोजक चौधरीले समीक्षा चौधरी दुबई आउने निश्चित भएको बताए । उनले थारू कलाकारलाई सम्मानका लागि दुबई निमन्त्रणा गर्न लागिएको बताए।

यसअघि अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज चौधरी, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखी , गायक संजय चौधरी , देवकृष्ण विश्वास लगायतलाई संस्थाले सम्मान गरिसकेको संयोजक चौधरीले बताए । कार्यक्रममा थारु संस्कृति झल्किने झाकी  , नृत्यको साथसाथै स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहनेछन्।